२८ बैशाख, माडी । जनकल्याण माध्यमिक विद्यालय, माडी-६, कल्याणपुरमा नयाँ अक्षयकोष स्थापना भएको छ । विद्यालयका भूतपूर्व विद्यार्थी तथा माडी नगरपालिका-६ लक्ष्मीनिवास निवासी हरिप्रसाद पौडेल संरक्षक रहने गरी रु ५० हजार राशिको ‘पदमपाणी–सेतीदेवी पौडेल अक्षयकोष’ स्थापना भएको हो ।
विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको जनाइएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम शिक्षा, छात्रवृत्ति तथा विद्यार्थी प्रोत्साहनका क्षेत्रमा खर्च गरिने विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय परिवारले अक्षयकोष स्थापना गरेकोमा हरिप्रसाद पौडेलप्रति आभार व्यक्त गर्दै यसले विद्यालयको शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । सो विद्यालयमा यसअघि पनि विभिन्न नामका शैक्षिक अक्षयकोषहरु स्थापित रहेका छन् ।




