चितवन खबर पोष्ट

माडीका निजी विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य, स्थानीय पाठ्यक्रमबीच पनि निरन्तरता

२८ बैशाख, माडी । माडीको बसन्तपुरस्थित पिसल्याण्ड ईङ्गलिस सेकेण्डरी स्कुलले कक्षा १ देखि १० सम्मै कम्प्युटर शिक्षा अनिवार्य गरी लागू गरेको छ ।

हालै माडी नगर शिक्षा समितिले स्थानीय पाठ्यक्रमलाई १०० पूर्णाङ्क (४ पाठ्यभार)मा लागू गर्दा कतिपय सामुदायिक विद्यालयहरुमा आधारभूत तहमा कम्प्युटर बिषय शिक्षण नहुने अवस्था सिर्जना भएको अवस्थामा सो विद्यालयले सबै कक्षाहरूमा कम्प्युटर बिषय पढाउन थालेको हो ।

संस्थागत विद्यालय रहेको सो स्कुलले दैनिक ८ पिरियड पठनपाठन गर्दै कक्षा १ देखि नै कम्प्युटर शिक्षा दिइरहेको विद्यालयका प्राचार्य गुणराज सुवेदीले बताउनुभयो । कम्प्युटर बिषय पढाए कारवाही भए कारवाही भोग्न आफू तयार रहेको उहाँको स्पष्टोक्ति छ ।

यस्तै, माडी–७, कीर्तनपुरस्थित बालविकास ईङ्गलिस स्कुलले कक्षा ४ देखि ८ सम्म कम्प्युटर बिषय शिक्षणलाई निरन्तरता दिएको विद्यालयका प्राचार्य हर्क चापागाईंले बताउनुभयो । अब, आइतबार पनि स्कुल चलाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, माडी–१, बरुवास्थित विद्याज्योति ईङ्गलिस बोर्डिङ स्कुलले पनि कक्षा ४ देखि ८ सम्म कम्प्युटर बिषय शिक्षणलाई निरन्तरता दिएको छ । स्थानीय पाठ्यक्रम (हाम्रो माडी)लाई सामाजिक शिक्षासंग समेत जोड्दै कम्प्युटर शिक्षणका लागि साप्ताहिक ३ पिरियड व्यवस्था गरिएको विद्यालयका प्राचार्य चीरञ्जीवि तिवारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया