२८ बैशाख, माडी । डिभिजन वन कार्यालय चितवनले वनसम्बन्धी अपराधमा प्रयोग भएका विभिन्न सवारी साधन हकदावीका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न मितिमा वन क्षेत्रमा गस्ती गर्ने क्रममा अवैध रूपमा वनजन्य अपराधमा प्रयोग भएका र बेवारिसे अवस्थामा फेला परेका ती सवारी साधन हालसम्म कसैले दावी नगरेको उल्लेख गर्दै नियमानुसार हकदावी गर्न १५ दिनको समय दिइएको हो । सो अवधीमा प्रमाणसहित दावी नगरिएका सवारी साधनहरू नेपाल सरकारको हुनजाने सूचनामा जनाइएको छ ।
बरामद सवारी साधनमध्ये चार पाङ्ग्रे सवारी साधन (बस, ट्रक, पिकअप) १४ वटा, तीन पाङ्ग्रे अटो रिक्सा ३ वटा, ट्र्याक्टर १२ वटा र मोटरसाइकल ६१ वटा रहेका छन् ।हाल डिभिजन वन कार्यालय चितवन परिसरमा राखिएका सो (भारबाहक) सवारी साधनका कारण कार्यालय परिसरनै कवाडखाना जस्तो देखिएको अवस्था छ ।




