२८ बैशाख, माडी । “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल भावलाई आत्मसात गर्दै चितवनमा ‘मानवताका लागि रक्त अभियान’ सुरु गरिएको छ । अभियानको संयोजकमा रक्त अभियन्ता राजेन्द्र प्रसाद पौडेल मनोनीत हुनुभएको छ ।
अभियानमा ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, अभियन्ता हरिप्रसाद न्यौपाने, डा. भोजराज अधिकारी, डा. प्रतिक न्यौपाने, डा. सृजना भुर्तेल, रक्त अभियन्ता भागिरथ बस्याल, नारायण आचार्य, सन्तोष वाग्ले लगायत ४० भन्दा बढीको सहभागिता रहेको छ ।
भरतपुरमा आइतबार आयोजित रक्तदान सम्बन्धी उत्प्रेरणात्मक छलफल कार्यक्रममार्फत अभियानको औपचारिक घोषणा गरिएको हो । अभियानले, देशमा देखिएको रगत अभाव न्यूनीकरण गर्ने, रक्तदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विभिन्न संघसंस्था तथा सरोकारवालासँग सहकार्य र समन्वय गर्दै नयाँ एवं नियमित रक्तदाता वृद्धि गर्ने योजना अघि सारेको छ ।




