११ जेष्ठ, माडी । माडीमा धानखेती गर्ने कृषकहरूका लागि जेष्ठ १२ गते (भोलि) मंगलबारदेखि अनुदान सहितको धानको बीउ बिक्री–वितरण सुरु हुने भएको छ। धान रोपाइँका लागि उपयुक्त समय आइसकेको अवस्थामा माडी नगरपालिका कृषि शाखाले माडीमा रहेका चारवटा साना किसान कृषि सहकारी संस्थामार्फत ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन लागेको हो ।
वितरण गरिने धानका प्रजातिहरूमा हर्दिनाथ–६, साबित्री, साँवा (मन्सुली सव), रामधान (वार), राधा–४ र सुख्खा–३ रहेका छन् । ५० प्रतिशत अनुदानपछि साँवा, हर्दिनाथ र रामधान जातका बीउको मूल्य प्रतिकिलो ३६ रुपैयाँ तथा साबित्री, राधा–४ र सुख्खा–३ जातका बीउको मूल्य प्रतिकिलो ३४ रुपैयाँ ५० पैसा कायम गरिएको कृषि शाखाले जनाएको छ ।
प्रति एक किसानले अधिकतम् ३० किलोग्राम बीउ अनुदान सहितको मुल्यमा पाउने र बीउ वितरण बिहान ७ बजेपछि सुरु हुने माडीका साना किसान कृषि सहकारी संस्थाहरुले जनाएका छन् ।

बरुवास्थित गर्दी महिला साना किसान कृषि सहकारी संस्थाले वडा नं. १ र २, बसन्तपुरस्थित बघौंडा महिला साना किसान कृषि सहकारी संस्थाले वडा नं. ३, ४ र ५, कीर्तनपुरस्थित कल्याणपुर महिला साना किसान कृषि सहकारी संस्थाले वडा नं. ६ र ७ तथा खरकट्टास्थित अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्थाले वडा नं. ८ र ९ (हनुमानझुला समेत) मा बीउ वितरण गर्ने व्यवस्था मिलाइएको कृषि शाखा प्रमुख सुरेश सिंखडाले जानकारी दिनुभयो।
— — —



