११ जेष्ठ, माडी । माडी नगरपालिकाले किसानलाई लक्षित गर्दै निःशुल्क माटो परीक्षण सेवा सुरु गरेको छ । गतसाताबाट कृषकहरुले ल्याएको माटोको निःशुल्क परीक्षण सहित उपचार सिफारिस सेवा गरिएको नगर कृषि शाखाका अधिकृत अनिल बस्यालले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम सञ्चालन भएको हो । किसानहरूले आफ्नो बारीको माटो परीक्षण गराउन कृषि शाखा बसन्तपुर वा मातहतका कृषि सेवा केन्द्रहरू (माडी–१, गर्दी र माडी–९, कृष्णनगर)मा माटोको नमुना बुझाउन सक्ने अधिकृत बस्यालले जानकारी दिनुभयो ।
माटो परीक्षणबाट प्राप्त नतिजाका आधारमा उपयुक्त बाली छनोट तथा उत्पादन वृद्धि गर्न सहयोग पुग्ने कृषि शाखाको भनाई छ । नगरपालिकाले किसानलाई आफैंले माटोको नमुना संकलन गरी ल्याउन अनुरोध गर्दै आवश्यक परे प्राविधिक सहयोग कृषि शाखाबाट लिन सकिने समेत जनाएको छ ।

— — —



