चितवन, ३० जेठ ०८३ — ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा सम्पन्न दोश्रो ऐतिहासिक रक्तदान महोत्सवमा १ हजार २ सय २६ जनाले रक्तदान गरेका छन् ।
जुन १४ मा मनाइने अन्तर्राष्ट्रिय रक्तदाता दिवसका अवसरमा आयोजित सो कार्यक्रममा चितवन र आसपासका धेरै क्षेत्रहरुबाट ठूलो संख्यामा रक्तदाताहरुको सहभागिता रहेको हो । रक्तदान स्थानमा एम.आर.आर. भजन समूहले भजन प्रस्तुत समेत गरेको थियो ।
मानव जीवन रक्षाका लागि आवश्यक रगतको अभाव हुन नदिन तथा नयाँ रक्तदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको र रक्तदाताहरुलाई गोलाप्रथाका आधारमा स्कुटर, साइकल, टेलिभिजन, सोफा, कुलर, मोबाइल उपहारहरूको व्यवस्थापन रहेको संस्थाका उपाध्यक्ष मनरूपा पौडेलले बताउनुभयो ।

गतबर्ष, आजकै दिनमा सोही स्थानमा सम्पन्न प्रथम ऐतिहासिक रक्तदान महोत्सवमा १ हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो । यसबर्ष सो संख्यालाई बढाई कम्तीमा २५०० युनिट रगत सङ्कलनको उद्देश्य रहेकोमा त्यसको करीब आधामात्रै रगत संकलन भएको छ ।



