देश-प्रदेश खबर पोष्ट

चितवन, १३ असार ०८३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सबै ८० वर्षका व्यक्ति ट्रम्पजस्ता नहुने र सबै ३६ बर्षका युवा बालेनजस्ता पनि नहुने बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा ट्रम्प र बालेनको प्रसंग उठाउँदै अध्यक्ष लिङ्देनले उमेर मात्र सबैथोक नभई अनुभव र क्षमता पनि उत्तिकै महत्वपूर्ण हुने बताएका हुन्। उनका अनुसार व्यक्तिको क्षमता, अनुभव र दृष्टिकोण नै मुख्य कुरा हो।

पार्टीभित्रको अवस्थाबारे बोल्दै उनले राप्रपाबाट बाहिरिने नेताहरूबारे धेरै टिप्पणी नगर्ने बताए। आफू पार्टीका सबै उतारचढावको साक्षी रहेको उल्लेख गर्दै वर्तमान परिस्थिति चुनौतीपूर्ण भए पनि डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो।

लिङ्देनले राप्रपालाई कमजोर बनाउने उद्देश्यसहित देशी–विदेशी शक्तिहरू सक्रिय रहेको आरोप पनि लगाए। यस्तो अवस्थामा पार्टी छाड्ने वा राजनीतिक मैदानबाट पछि हट्नेहरूलाई इतिहासले कहिल्यै बहादुर नमान्ने टिप्पणी गर्दै उनले संगठनलाई अझ मजबुत बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया