चितवन, १२ असार ०८३ — नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि राजनीतिक सहकार्य गर्ने बताएका छन्।
विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले संसद्, सडक आन्दोलन तथा आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेसँग कार्यगत एकता गर्ने सहमति भइरहेको जानकारी दिए। उनका अनुसार तत्काल एकता सम्भव नभए पनि सहकार्यमार्फत वामपन्थी शक्तिलाई बलियो बनाउँदै नयाँ राजनीतिक दिशा दिन सकिन्छ।
प्रचण्डले संसद्भित्र साझा रणनीतिसहित प्रस्तुत हुने र बाहिर पनि संयुक्त आन्दोलन सञ्चालन गर्ने योजना रहेको बताए। उनले समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग समेत छिट्टै एकता हुने संकेत गरे।

आफूमाथि हुने आलोचना र सामाजिक सञ्जालका प्रतिक्रियालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले कार्यकर्ताहरूलाई नडराई र नहिचकिचाई अघि बढ्न निर्देशन दिए। आफूहरू परिवर्तनका लागि जुनसुकै बेला ‘क्रमभङ्ग’ गर्न तयार रहेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनमा पनि नयाँ निर्णयहरू आउने संकेत गरेका छन्।



