चितवन, १२ असार ०८३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा खुला उपसभापतितर्फ डा स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेसंगै सर्वसम्मत उपसभापति चयन भएका छन्।
महिला उपसभापतिमा सोविता गौतम र डा तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। महामन्त्री पदका लागि १० जनाको उम्मेदवारी परेकोमा निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी सहित रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदीश खरेल, शिशिर खनाल र राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।
उनीहरूले विपिनकुमार आचार्य लाई समर्थन गर्ने घोषणा गर्दै प्रतिस्पर्धाबाट पछि हटेका हुन्। यस्तै, दुई सहमहामन्त्री पदका लागि ११ जना र एक महिला सहमहामन्त्री पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। दोस्रो चरणको निर्वाचनमा पहिलो चरणबाट निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

यसैबीच, महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण शुक्रबार (आज) साँझ ६:३० बजे हुने कार्यक्रम तय गरिएको छ। योसंगै गत आइतबारदेखि सुरु भएको महाधिवेशन ६ दिनसम्म चलेर अन्तिम चरणमा पुगेको छ।



