माडी (स्थानीय) खबर पोष्ट

माडीमा अब उत्पादनमा आधारित माछा र मासुमा पनि अनुदान

चितवन, १२ असार ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि उत्पादनमा आधारित माछा तथा मासुमा समेत अनुदानको कार्यक्रम ल्याएको छ । नगरपालिकाले पारित गरेको आगामी आर्थिक बर्ष २०८३/८४ को बजेटमा माछा र मासुमा अनुदान दिने भन्दै १५ लाख रुपैंया विनियोजन रहेको हो ।

यसअघि २०७६/७७ तिर बजेटमा आएपनि कार्यविधि अभावका कारण फ्रिज भएको सो कार्यक्रम आगामी आ.व.को बजेटमा पुन समेटिएको हो । यो कार्यक्रम कार्यान्वयनका लागि मासु वा माछा उत्पादक किसानलाई समूह वा सहकारीमा आवद्ध हुन अनिवार्य गरिने र सोही समूह सहकारीमार्फत अनुदान वितरण गर्ने नगर पशुपंक्षी तथा मत्स्य शाखाको तयारी छ ।

यसबाहेक, नगरपालिकाले चालू आर्थिक बर्षमा कार्यान्वयन गरेको दुधमा प्रतिलिटर ४ रुपैंया अनुदानलाई बढाई ५ रुपैंया पुर्याउन ५० लाख रुपैंया (शाखाको कूल बजेटको करीब ४२ प्रतिशत रकम) विनियोजन रहेको छ ।

त्यस्तै, जुनोटिक (पशुबाट मानवमा सर्ने) रोग सम्बन्धी सचेतना, उत्कृष्ट पशुपालक तथा मत्स्य कृषक सम्मान, कृत्रिम गर्भाधानमार्फत सुत्केरी पशुलाई प्रोत्साहन, मागमा आधारित किसान क्षमता अभिवृद्धि, पशु अस्पतालमा सेवा थप लगायतका कार्यक्रममा बजेट विनियोजन रहेको शाखाप्रमुख डा. सन्तोष क्षेत्रीले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया