चितवन, ०९ असार ०८३ — माडी नगरपालिका-१, लक्ष्मुनियाँ क्षेत्रमा गाइ र बाच्छा मारेको बाघ नियन्त्रणमा लिइएको छ । स्थानीय गोबिन्द पौडेलको गाई र बाच्छा मारेको सो बाघलाई मंगबार साँझ डार्ट गरी नियन्त्रणमा लिइएको हो ।
बाघ नियन्त्रणका लागि दुईवटा हात्ती सहित चितवन राष्ट्रिय निकुञ्जको टोली, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा खटिएको थियो । सो क्षेत्र वरपर विगतमा पनि कहिलेकाँही बाघ देखापर्ने घटना भइरहन्छ ।
डार्ट गरी नियन्त्रणमा लिइएको बाघलाई सो टोलीले लिएर गएको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाठकले बताउनुभयो । नागरिकहरूलाई सतर्क रहन, एक्लै जंगल नजान र पशुचौपायालाई सुरक्षित गोठहरूमा राख्न उहाँको अनुरोध छ ।




