माडी (स्थानीय) खबर पोष्ट

माडीको सुशासन नीति: नम्बर डिटेक्सनसहित सीसी क्यामेरा, पेपरलेस सेवा र पारदर्शी ई–बिडिङ प्रणाली लागू गर्ने योजना

चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘संस्थागत विकास र सुशासन’ क्षेत्रअन्तर्गत नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ‘नम्बर डिटेक्सन प्रणालीसहितको सिसी क्यामेरा जडान गर्ने’ नीति अघि सारेको छ।

नगर प्रमुख ताराकुमारी काजी महतोद्वारा असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रममा बढ्दो सवारी दुर्घटना तथा विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सडक एवं बजार क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई जोड दिएको हो।

यसबाहेक, नीति तथा कार्यक्रमहरूको सूचिमा नगरको सेवा प्रवाहलाई पेपरलेस र फेसलेस बनाउने, रियल टाइम डेटा सहित नगर प्रोफाइल तयार गर्ने तथा अधिकांश सेवा वडा कार्यालयबाटै उपलब्ध गराउने उल्लेख छ।

यस्तै, भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीति अपनाउँदै ई-बिडिङमार्फत पारदर्शी खरिद प्रणाली लागू गरिने साथै वित्तीय अनुशासन कायम गर्दै चालु खर्च घटाई पूँजीगत खर्च बढाइने नीति लिइएको छ।

राजस्व सुधारका लागि करको दायरा विस्तार, करदाता शिक्षा तथा उत्कृष्ट करदाता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइने र पुराना बेरुजु फर्छौटलाई तीव्रता दिइने उल्लेख रहेको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार