चितवन, १३ असार ०८३ — माडी नगरपालिकाले पहिलोपटक चैतेधान उत्पादनमा प्रोत्साहन कार्यक्रम ल्याउँदै कृषि शाखामार्फत १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले चैतेधान उत्पादन गर्ने कृषकलाई उत्पादन क्षेत्रको अनुपातमा प्रोत्साहन गर्ने भन्दै आगामी आर्थिक बर्ष २०८३/८४ का लागि सो योजना ल्याएको हो ।
पछिल्लो समय माडी क्षेत्रमा सिंचाई सुबिधामा उल्लेख्य सुधार भएसंगै कृषकहरु बर्षेसंगै चैतेधान लगाउन थालेका छन् । चैतेधान उत्पादनको क्षेत्र, कृषक संख्या र प्राथमिकता सबै बढेसंगै पालिकाले समेत बजेटमार्फत यसलाई प्रोत्साहनको कार्यक्रम ल्याएको नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।
यसबाहेक, कृषि शाखाले कृषि बजारमा कोल्ड रुमलगायत पूर्वाधार निर्माणका लागि १५ लाख रुपैयाँ, कृषि यान्त्रीकरण प्रवद्र्धनका लागि १० लाख रुपैयाँ, पाइप लाइनिङ कार्यक्रमका लागि १४ लाख रुपैयाँ र बाँझो जग्गा सदुपयोग गरी विपन्न लक्षित कार्यक्रमका लागि ५ लाख २५ हजार रुपैंया बजेट छुट्याइएको छ ।

यसैगरी, तरकारी मिनिकिट वितरण, स्थानीय बाली प्रवद्र्धन, फलफूल खेती विस्तार, प्राङ्गारिक खेती प्रवद्र्धन, माछापालन विकास, व्यवसायिक खुर्सानी खेती, कृषक समूह तथा सहकारी क्षमता अभिवृद्धि, कृषि सम्बन्धी गोष्ठी तथा अध्ययन अनुसन्धान र बाली रोग तथा किराको नियन्त्रण कार्यक्रमलाई पनि बजेटमा समेटेको कृषि शाखा प्रमुख सुरेश सिंखडाले बताउनुभयो ।



