चितवन, १३ असार ०८३ — देशकै १०० पर्यटकीय गन्तव्यस्थलहरुको सूचिमा समेटिएको माडीको सोमेश्वरगढीस्थित गोलघर र अभिमानसिंह बस्न्यातको मुर्तीको जगलाई नेपाली सेनाले मर्मत एवं रंगरोगन गरेको छ ।
हाल चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नयाँ गोरख गण, कसरा ब्यारेकमा कार्यरत पेन्टिङ कलाकार सहितको टोलीले गोलघरको रंगरोगन गरी त्यसको बीचमा रहेको काजी अभिमानसिंह बस्न्यातको मुर्ती (प्रतिमा) को जगलाई टायल मार्बल लगाई मर्मत गरेको हो ।
घोलघरको बाहिरी घेरामा सैनिक कलाकार टीमले नेपाली सेनाको इतिहास झल्कने चित्रकला (पेन्टिङ) गरी विशेष आकर्षक बनाएका छन् । सोमेश्वरको पार्किङस्थलबाट भारी बोकेर गोलघरसम्म सिमेन्ट, बालुवा, टायल, मार्बल आदिजस्ता निर्माण सामग्री लगेका उनीहरुले बिचमा रहेको पाताल गंगाबाट पानी पिउन आकर्षक ढुङ्गे धारा समेत निर्माण गरेका छन् ।

अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए । नेपालको एकीकरण अभियान अन्तरगत सोमेश्वरगढीसंग उनको इतिहास जोडिएकाले उनको प्रतिमा स्थापना गरिएको बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले बताउनुभयो ।



