माडी (स्थानीय) खबर पोष्ट

माडीको जनकल्याण माविलाई २१ कम्प्युटर सहयोग, आधुनिक कम्प्युटर ल्याब स्थापना

चितवन, १४ असार ०८३ — पोखरा र चितवनका २ रोटरी क्लबले माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको कम्प्युटर ल्याब (प्रयोगशाला)का लागि २१ वटा कम्प्युटर सहयोगस्वरूप प्रदान गरेका छन् ।

रोटरी क्लब अफ पोखरा फिसटेल र रोटरी क्लब अफ नारायणी मिड टाउनले एडुटेक नेपाल र एल्सपेथ स्यान्डरसनको सहयोगमा विद्यालयलाई सबै कक्षाका सबै विषयका पाठ्यसामग्रीसहित करिब ८ लाख ८९ हजार रुपैयाँ लागत बराबरका २१ वटा ब्राण्डेड कम्प्युटर सहयोगस्वरूप प्रदान गरेका हुन् ।

रोटरियन विनोद कोइरालाको प्रमुख आतिथ्यमा आइतबार सो सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर जि.सी.ले बताउनुभयो ।

माडी नगरपालिकाको नमुना विद्यालय कार्यक्रमबाट प्राप्त ४ लाख ५० हजार रुपैयाँमध्ये ३ लाख रुपैयाँबाट कम्प्युटर ल्याबका लागि विद्यालयले फर्निचर निर्माण गरेको समेत उहाँले जनाउनुभयो । कम्प्युटर ल्याब स्थापना भएपछि विद्यालयमा कम्प्युटर शिक्षण प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया