माडी (स्थानीय) खबर पोष्ट

माडीमा सरसफाइ सेवा शुल्क वृद्धि, सेवा विस्तार नभएको भन्दै जनगुनासो

चितवन, १४ असार ०८३ — माडी नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न व्यवसाय तथा आवासीय क्षेत्रबाट उठाउने मासिक सरसफाइ सेवा शुल्क तोकेको छ। तोकिएको शुल्कअनुसार ठूला होटल तथा लजले मासिक २०० रुपैयाँ, साना होटलले १५० रुपैयाँ र आवासीय घरधुरीले ५० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै तरकारी पसलका लागि मासिक १५० रुपैयाँ तथा बैंक, सहकारी र बिमा कम्पनीलगायत वित्तीय संस्थाका लागि २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। कपडा तथा फेन्सी स्टोर्सबाट पनि मासिक १५० रुपैयाँ सरसफाइ सेवा शुल्क लिइने नगरपालिकाले जनाएको छ।

नगरपालिकाको अठारौं नगरसभाले पारित गरेको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०८३ ले सो दररेट कायम गरेको हो । प्रस्तावित विधेयकलाई नगरसभाले सर्वसम्मत पारित गरेको थियो ।

गतबर्षबाट सरसफाइ सेवा शुल्क बढेपनि फोहोर उठाउने कर्मचारी वा गाडीको संख्या नबढेको, फोहोर उठाउन आउने समय (पटक) उस्तै रहेको र फोहोर व्यवस्थापनको ठोस काम पनि सुरू हुन बाँकी नै रहेको भन्दै जनस्तरबाट सो बढेको शुल्कको आलोचना हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया