खेल र खेलाडी पोष्ट

दोस्रो अन्तरविद्यालय क्रिकेटको उपाधि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयलाई

चितवन, २२ असार २०८३ — वसन्तपुर युथ क्लबको आयोजना तथा दिवाकर स्मृति माध्यमिक विद्यालयको सहआयोजनामा सम्पन्न दोस्रो अन्तरविद्यालय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरले जितेको छ ।

प्रतिस्पर्धात्मक फाइनल खेलमा माडी माध्यमिक विद्यालयले टस जितेर पहिलो ब्याटिङ गर्दै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको शिक्षालयले उत्कृष्ट खेल प्रदर्शन गर्दै ३ बल बाँकी रहँदै लक्ष्य पूरा गरी उपाधि उचालेको हो ।

प्रतियोगितामा व्यक्तिगत पुरस्कारतर्फ शिवनन्दन यादव (दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय) प्लेयर अफ द म्याच घोषित हुनुभयो । त्यसैगरी प्रिन्स कुँवर (माडी माध्यमिक विद्यालय) बेस्ट ब्याट्सम्यान, आयुष पाठक (विद्याज्योति इङ्ग्‌िलस स्कुल) बेस्ट बलर तथा प्रिन्स धिताल (माडी माध्यमिक विद्यालय) प्लेयर अफ द टुर्नामेन्ट घोषित भई सम्मानित हुनुभयो ।

समापन तथा पुरस्कार वितरण कार्यक्रमको सभाध्यक्षता वसन्तपुर युथ क्लबका सचिव तथा शिक्षक मिलन पनेरुले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तथा माडी शिक्षा, खेलकुद विकास समितिका अध्यक्ष पुरन महतो रहनुभएको थियो ।

यसैबीच, निकट भविष्यमा आयोजना हुने अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरिने तथा छनोट भएका खेलाडीहरूको नामावली केही दिनभित्र सार्वजनिक गरिने जानकारी आयोजकले दिएको छ ।

तपाईको प्रतिक्रिया