चितवन, २३ असार २०८३ — लामो विवाद र खिंचातानीपछि अन्ततः पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय रहेको भवनमा माडी १ वडा कार्यालय सञ्चालन हुने भएको छ । आगामी श्रावण १ गते अर्थात् नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि वडा नं. १ को कार्यालय सोही भवनबाट औपचारिक रूपमा सञ्चालनमा आउने तयारी गरिएको हो ।
भवनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन, भवन रहेको स्थानको वडा नम्बर बारेको विवाद, भवनमा सञ्चालन रहेको पाँचपाण्डव मध्यवर्ती समिति एवं गर्दी चुरे सामुदायिक वन समूह कार्यालयको भाडा आदिजस्ता लफडा किनारा लगाउँदै माडी नगर कार्यपालिकाले अन्ततः सो भवनमा वडा नं. १ कार्यालय पुनर्स्थापना गरेको हो ।
यसअघि, वडा नं. १ कार्यालयका लागि भवन निर्माण गर्न पटक पटक बजेट विनियोजन भएपनि जमीन व्यवस्थापन हुन नसक्दा भवन निर्माण सुरु हुन नसकिरहेको अवस्था थियो । भवनमा हाल भवनको रंगरोगन, सरसफाई र कार्यालय व्यवस्थापनको काम चलिरहेको देखिन्छ ।

करीब एक दशकअघि तात्कालीन गर्दी गा.वि.स.स्तरीय सर्बदलिय संयन्त्रले सो भवन अर्को व्यवस्था नहुँदासम्म पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिलाई उपयोग गर्नदिने निर्णय गरेको थियो । यद्यपि सो भवन वडा नं. २ मा पर्ने भन्दै सोही अनुसार भित्तेलेखन रहेको थियो ।



