चितवन, २४ असार २०८३ — दिवंगत समाजसेवी रामकृष्ण चौधरीप्रति श्रद्धाञ्जलीस्वरुप चौधरी परिवारद्वारा आयोजित खुला रक्तदानमा ३० जनाले रक्तदान गरेका छन् । माडी नगरपालिका–३, बघौंडा गाउँस्थित चौधरी निवासमा सञ्चालित सो कार्यक्रममा २३ पुरुष र ७ महिलाले रक्तदान गरेका हुन्, जसमध्ये पहिलोपटक रक्तदान गर्नेको संख्या ४ रहेको थियो ।
चौधरी परिवारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा, थारु कल्याणकारिणी सभा क्षेत्र नं. १ (माडी), शिव मन्दिर टोल विकास संस्था बघौंडा, ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र माडी, बर्डस् नेपाल बघौंडा, माडी नगर योग समिति, माडी जेसिज, माडी प्रज्ञा प्रतिष्ठान र स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुरको सह–आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।
नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखाका पूर्व सभापति समेत रहनुभएका चौधरीले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। ८० वर्षको उमेरमा गत असार १४ गते मुटुको शल्यक्रियाका क्रममा उहाँको निधन भएको थियो । दिवंगत चौधरीको इच्छाअनुसार उक्त रक्तदान कार्यक्रम सञ्चालन गरिएको परिवारले जनाएको छ ।




