चितवन खबर पोष्ट

२५ जनाको ज्यान लिएको ध्रुवेलाई नियन्त्रणमा लिने तयारी

चितवन, २४ असार २०८३ — लगातार मानवीय क्षति गराउँदै आएको ‘ध्रुवे’ नामक जङ्गली हात्तीलाई मार्नुपर्ने जनदबाबबिच निकुञ्ज प्रशासनले त्यसलाई नियन्त्रणमा लिएर यसको दाह्रा छोट्याउने निर्णय गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार उक्त हात्तीलाई बेहोस बनाएर दाह्रा काटिने र नयाँ रेडियो कलर जडान गरिनेछ । “हामी तयारी अवस्थामा छौँ, भेटिनासाथ डार्ट गरेर नियन्त्रणमा लिन्छौँ, त्यसपछि दाह्रा काट्ने र नयाँ रेडियो कलर लगाउने योजना छ,” उहाँले बताउनुभयो ।

ध्रुवे हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको छ । पछिल्लो घटनामा गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो । हात्तीको आक्रमणपछि स्थानीयवासी त्रसित बनेका छन् ।

निकुञ्ज प्रशासनका अनुसार यसअघि जडान गरिएको रेडियो कलर प्रभावकारी नभएकाले नयाँ उपकरण ल्याइएको छ । नयाँ रेडियो कलर जडानपछि हात्ती बस्ती नजिक आउँदा तत्काल सूचना प्राप्त हुने र स्थानीयलाई सचेत गराउन सहज हुने विश्वास गरिएको छ ।

विसं २०७४ मा नेपाली सेनाका एक सेनानीलाई आक्रमण गरी मारेको ध्रुवेले २०६८/६९ सालताका दैनिकजसो मानिस मारिरहेपछि मार्ने आदेश दिइएको थियो । तर त्यसको कार्यान्वयन भने भएन । ध्रुवेको घाँटीमा पटक–पटक रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने कार्य हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया