चितवन, २६ असार २०८३ — माडी नगरपालिकाको पूँजिगततर्फको खर्च मध्यम रहँदा चालू तर्फको खर्च उच्च रहेको देखिएको छ । पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक वित्तीय विवरण अनुसार पुँजीगततर्फ ५६.९१ प्रतिशत खर्च हुँदा चालूतर्फ ८३.९६ प्रतिशत खर्च भएको हो ।
सार्वजनिक विवरण अनुसार पालिकाको कूल विनियोजित बजेट ९४ करोड ३७ लाखमध्ये ७१ करोड ३३ लाख अर्थात ७५.५८ प्रतिशत खर्च भएको छ ।
सो रकममध्ये पुँजीगत (पूर्वाधार निर्माण, सडक, भवन तथा अन्य विकास आयोजना)तर्फ विनियोजित २९ करोड २० लाखमध्ये १६ करोड ६२ लाख खर्च भएको हो ।

त्यस्तै चालू ( प्रशासनिक खर्च, कार्यालय सञ्चालन, तलब, भत्ता आदि)तर्फ विनियोजित ६५ करोड १६ लाखमध्ये ५४ करोड ७० लाख रुपैंया खर्च भएको छ ।
विज्ञहरूका अनुसार चालू खर्च बढी हुनु र पुँजीगत खर्च कम हुनु दीर्घकालीन विकासका लागि राम्रो संकेत होइन । यसले प्रशासनिक खर्च बढ्दै गएको र विकासमुखी लगानी कमजोर भएको देखाउँछ ।



