देश-प्रदेश खबर पोष्ट

चितवनमा भीषण वर्षा: भरतपुर डुबानमा, नारायणीको सतह बढ्दै

चितवन, ३० असार २०८३ — चितवनमा सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न होचा बस्ती तथा शहरी क्षेत्र डुबानमा परेका छन् भने नारायणी नदीको जलसतह लगातार बढिरहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाको बर्षामापत अनुसार नारायणी क्षेत्रीय कार्यालयअन्तर्गत पछिल्लो २४ घण्टामा अधिकतम ३१८ मिलिमिटर वर्षा मापन भएको छ, जुन देशकै उच्च वर्षामध्ये एक हो।

लगातारको वर्षापछि भरतपुर महानगरका विभिन्न होचा बस्ती, सडक तथा चोकमा पानी जमेको छ। केही स्थानमा घरभित्र पानी पसेको स्थानीयले बताएका छन् भने सवारी आवागमनसमेत प्रभावित बनेको छ।

यसैबीच, लगातारको वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड निरन्तर अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाइएको छ। यात्रुहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा वैकल्पिक मार्गको प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

मौसमविद्हरूले अझै केही समय भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। नदी किनार, डुबान तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा स्थानीय प्रशासन र जल तथा मौसम विज्ञान विभागबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया