चितवन, ०८ श्रावण २०८३ — चितवन जिल्लामा ३४ भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र (लालपुर्जा) वितरण गरिएको छ।
जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका उक्त परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्।
लालपुर्जा वितरण कार्यक्रममा स्थानीयवासीले खुशी व्यक्त गर्दै राज्यको यो कदमले आफ्नो जीवनमा स्थायित्व र सुरक्षा थपिएको बताएका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ।
यसैबीच, झापाको कनकाई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी पाँच परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पत्र वितरण गरिएको छ। सरकारले देशका विभिन्न स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै भूमिहीनलाई कानुनी रूपमा जग्गाधनी बनाउने अभियानलाई अघि बढाइरहेको छ।



