चितवन खबर पोष्ट

माडीमा मध्यवर्ती क्षेत्रका ऐन–नियम संशोधनका लागि सुझाव संकलन, संरक्षण र स्थानीय अधिकारबारे बहस

चितवन, २१ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका विद्यमान ऐन, नियमावली तथा निर्देशिका संशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यले माडी नगरपालिका-३, बसन्तपुरमा सेक्टर स्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, कसरा, चितवनको आयोजनामा तथा राष्ट्रिय भू-परिधि तथा संरक्षण कार्यक्रम, कोहलपुरको सहयोगमा सम्पन्न कार्यक्रममा माडी बगहीँ सेक्टर क्षेत्रका जनप्रतिनिधि, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति, सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष शिवजी गायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाल रहेका थिए।

कार्यक्रममा सहभागीहरूलाई समूहगत छलफलमा विभाजन गरी निकुञ्जका विद्यमान ऐन, नियमावली तथा निर्देशिकासम्बन्धी असल अभ्यास, विद्यमान सवाल तथा सुधारका लागि आवश्यक सुझावहरू संकलन गरिएको थियो।

समूहगत छलफलका क्रममा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, क्षतिपूर्ति तथा राहत वितरण प्रक्रिया, मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकार, संरक्षण र विकासबीच सन्तुलन, स्थानीय समुदायको सहभागिता तथा नीति कार्यान्वयनका चुनौतीलगायत विषयमा गहन छलफल भएको थियो।

तपाईको प्रतिक्रिया

ताजा समाचार