देश-प्रदेश खबर पोष्ट

रसुवा बाढीमा ज्यान गुमाएकाको स्मृतिमा कीर्तनपुरमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन

चितवन, १६ भाद्र २०८३ — रसुवा बाढीमा ज्यान गुमाएका मृतकहरूको स्मृतिमा माडी नगरपालिका–७, कीर्तनपुर (देवीकोट)मा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार साँझ ८ बजेदेखि आयोजित कार्यक्रममा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्नुका साथै मौनधारण र भजन–कीर्तनमार्फत मृतकप्रति सम्मान व्यक्त गरेका थिए।

कार्यक्रममा १ घण्टा १ मिनेट अखण्ड कीर्तनसमेत गरिएको थियो। बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकको सम्झनामा आयोजित कार्यक्रममा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग र साथ दिनुपर्नेमा जोड दिइएको थियो।

नागरिकस्तरमा स्वतःस्फूर्त रूपमा आयोजित उक्त श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा कला, साहित्य तथा संस्कृति मञ्च, माडी युवा भजन समिति, देवीकोट टोल संस्था, देवीकोट आमा समूह, कीर्तनपुर बजार व्यवस्थापन समिति लगायत बसन्तपुर, कल्याणपुरका भजन समूहको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया