चितवन, १७ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-३, बसन्तपुरस्थित शिवशक्ति महिला समूहले १५ हजार ९ सय ९५ रुपैयाँ सहयोग गरेको छ।
समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकमार्फत दाखिला गरेका हुन्। बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको समूहले जनाएको हो।
यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा ७ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम जुटेको छ । कोषबाट विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा १ अर्ब रुपैयाँ निकासा भएको छ । अहिले पनि सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।




