चितवन खबर पोष्ट

चितवनमा बाढीबाट फेला परेका २८० शवको फरेन्सिक परीक्षण र डीएनए नमूना सङ्कलन

चितवन, १६ भाद्र २०८३ — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये चितवनमा हालसम्म २८० शवको फरेन्सिक परीक्षण तथा डीएनए नमूना सङ्कलन गरिएको छ।

भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ ११ गतेदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शवको पहिचानका लागि आवश्यक परीक्षण, डीएनए तथा जैविक नमूना सङ्कलन र अभिलेखीकरण भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूली र नारायणी नदीबाट हालसम्म ३२१ शव सङ्कलन गरिएका छन्। तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्।

पहिचान खुल्न नसकेका शवको भविष्यमा पहिचान गर्न सकिने गरी डीएनए नमूनासहित चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। नदी किनारमा शव खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ।

तपाईको प्रतिक्रिया