चितवन, १६ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-२, भैरबपुरस्थित भैरबपुर हातेमालो टोल विकास संस्थाले १८ हजार २०५ रुपैयाँ सहयोग गरेको छ।
टोल विकास संस्थाका सदस्यहरूले सामूहिक रूपमा उक्त रकम संकलन गरी बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेका हुन्। आफ्ना लागि गरिने खर्च केही घटाएर विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम जुटाइएको संस्थाका सचिव नविनबाबु पराजुलीले बताउनुभयो ।
संस्थाले विपद्का बेला सबैले आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएको छ। रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा भइसकेको छ भने स्वदेश र विदेशबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ ।




