चितवन, २६ भाद्र २०८३ — माडी नगरपालिकाले हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आगामी भाद्र २९ गते सोमबार स्थानीय बिदा दिएको छ।
नगरपालिकाको नगर प्रमुख स्तरीय बैठक (मिति २०८३/०५/२५ को निर्णयानुसार) हरितालिका तीज पर्व परेको दिन माडी नगरपालिका अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरूमा बिदा दिइएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. सन्तोष क्षेत्रीद्वारा जारी सूचना अनुसार सो दिन माडी नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तर्गतका अन्य कार्यालयहरू तथा नगर क्षेत्रभित्रका सबै सार्वजनिक विद्यालयहरूमा स्थानीय बिदा लागू हुनेछ।

यसैबीच, माडी नगरपालिकाले यस वर्ष तीज विशेष कार्यक्रम, उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न नगरवासीलाई आग्रह गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनामार्फत हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदबाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउन यस्तो निर्णय गरिएको जनाएको हो।



