चितवन, २४ भाद्र २०८३ — मत्स्य आधुनिकीकरण परियोजना अन्तर्गत माडी नगरपालिकामा रहेका मत्स्य सरोकारवालासँग समन्वय बैठकमा माडी क्षेत्रको माछापालनको अवस्था, किसानले भोगिरहेका समस्या तथा आगामी सम्भावनाका विषयमा छलफल भएको छ ।
बुधबार होटल प्याराडाइजमा सम्पन्न सो कार्यक्रममा माछा किसान, नर्सरी तथा ह्याचरी सञ्चालक, माछा व्यवसायी लगायत मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो।
मेड–नेपालका मत्स्य विशेषज्ञ सन्दीप न्यौपानेले मत्स्य आधुनिकीकरण परियोजना र माडीमा सञ्चालन भइरहेका कार्यक्रमबारे जानकारी गराएका थिए। बैठकमा माडी नगरपालिकाका उपमेयर हेमप्रसाद महतो, वडा नं. ६ का अध्यक्ष दीपेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो।

सो अवसरमा दुईवटा माछा उत्पादक समूह र तीनवटा ह्याचरीलाई पानीको गुणस्तर मापन गर्ने उपकरणसमेत हस्तान्तरण गरिएको थियो। मेड–नेपाल भरतपुर र लुथरन वर्ल्ड रिलिफको सहकार्यमा माडी क्षेत्रमा सो परियोजना सञ्चालनमा रहेको छ ।



