चितवन खबर पोष्ट

सोमेश्वर मध्यवर्ती सामुदायिक वनमा कार्यसमिति पुनर्गठन प्रक्रिया सुरु: असोज १ सम्म इकाई प्रतिनिधि चयन गरिने

चितवन, २६ भाद्र २०८३ — माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह (माडी नगरपालिका-३, वसन्तपुर) ले कार्यसमिति पुनर्गठनको प्रक्रिया अघि बढाएको छ।

कार्यसमितिका पदाधिकारीहरूको पदावधि समाप्त भएसंगै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन/पुनर्गठन समितिको बैठक बसी पुनर्गठन प्रक्रिया अघि बढाइएको वन समूहका कार्यालय सचिव ऋषि महतोले बताउनुभयो ।

समितिका संयोजक बलराम महतोद्वारा मिति २०८३/०५/२६ मा जारी सूचना अनुसार इकाई नं. १ देखि १३ सम्मका सबै इकाईहरूलाई वन ऐन २०७६, वन ऐन नियमावली २०७९ तथा समूहको विधान बमोजिम आगामी २०८३ असोज ०१ गतेसम्म सर्वसम्मत रूपमा इकाई प्रतिनिधि चयन गर्ने समयसीमा तोकिएको छ।

तोकिएको समयभित्र सर्वसम्मत रूपमा इकाई प्रतिनिधि छनोट भई नआएमा निर्वाचन समितिले आवश्यक प्रक्रिया पुर्‍याएर प्रतिनिधि छनौट गर्ने निर्णय गरेको कार्यालय सचिव महतोले उल्लेख गर्नुभयो । क्षेत्रफल र उपभोक्ताका आधारमा सोमेश्वर मध्यवर्ती सामुदायिक वन माडीको सर्वाधिक ठूलो वन समूह हो ।

तपाईको प्रतिक्रिया