चितवन खबर पोष्ट

चेली नेपालले माडी नगरपालिकाभित्रका चार विद्यालयका १७ जना छात्रालाई साइकल वितरण

चितवन, २९ भाद्र २०८३ — चेली नेपालले माडी नगरपालिकाभित्रका चार विद्यालयका १७ जना छात्रालाई साइकल वितरण गरेको छ।

विद्यालय आवतजावतमा लाग्ने समय बचत गरी छात्राहरूको नियमित उपस्थिति र सिकाइमा सक्रिय सहभागिता बढाउने उद्देश्यले साइकल वितरण गरिएको हो। माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको थियो।

चेली नेपालले माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयका पाँच–पाँच जना, राष्ट्रिय आधारभूत विद्यालय रतनी धौवाका चार जना तथा जनजीवन माध्यमिक विद्यालयका तीन जना छात्रालाई साइकल उपलब्ध गराएको हो।

कार्यक्रममा माडी–६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेल, विद्यालयका प्रधानाध्यापकहरू, छात्रा तथा अभिभावकहरूको सहभागिता थियो। चेली नेपालले माडीमा शिक्षा विकास र सीप विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायिक परिचालक मिरा महतोले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया