चितवन, २७ भाद्र २०८३ — त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फ नयाँ ट्रयाक निर्माण सम्पन्न भइसकेको छ। अहिले ट्रयाकको ग्रेड सुधार गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ।
कामका लागि आवश्यकताअनुसार उपकरण तथा निर्माण व्यवसायीको टोली परिचालन गरिएको छ। हाल दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेको र ग्रेडको काम सकिएपछि रोलर थप गरी रोलिङ गरिने अधिकारीले बताउनुभयो।

सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने र त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो।
— — —



