चितवन, २९ भाद्र २०८३ — माडी नगरपालिका-१, बरुवामा आयोजित ३१औँ स्टार कप फुटबल प्रतियोगिता–२०८३ को उपाधि एप्पल गुरु सूर्यपुर फुटबल क्लब, कालिका नगरपालिकाले जितेको छ।
तीज पर्वको अवसर पारी सोमबार (आज) स्टार खेल मैदानमा सम्पन्न फाइनल खेलमा लोकतान्त्रिक प्याराडाइज युवा क्लब, रत्ननगर र सूर्यपुर फुटबल क्लबबीच निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा प्याराडाइज युवा क्लबलाई पराजित गर्दै सूर्यपुरले उपाधि हात पारेको हो।
उपाधिसँगै सूर्यपुरले नगद २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता प्याराडाइज युवा क्लबले १ लाख ३८ हजार ८ सय ८८ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

स्टार स्पोर्ट युवा क्लब माडी–१, बरुवाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
सूर्यपुरले प्रतियोगितामा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो। क्वार्टरफाइनलमा नारायणी मोटर्स युनिक क्लब, भरतपुरलाई ५–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको सूर्यपुरले सेमिफाइनलमा चैनपुर युवा क्लब माडीलाई २–१ गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो। अन्ततः फाइनलमा पेनाल्टी सुटआउटमार्फत प्याराडाइजलाई पराजित गर्दै सूर्यपुरले स्टार कपको उपाधि उचालेको हो।



