स्वदेशपोष्ट विशेष

कोरियामा रहेका माडीबासीहरुद्वारा उपचार सहयोग रकम हस्तान्तरण

पेटको क्यान्सरपीडित माडी पिपरियाकी दिलकुमारी महतो तथा दुबै मृगौला बिग्रिएर पीडित माडी बघौंडाका मनोज महतोलाई कोरियामा रहेका माडीबासीहरुले उपचार सहयोग गरेका छन् । क्यान्सरपीडित महतोलाई चालिस हजार रुपैंया तथा मृगौलापीडित महतोलाई दश हजार रुपैंया सहयोगस्वरुप हस्तान्तरण गरिएको छ । कोरियामा रहेका माडीबासीहरु तथा समितिको आर्थिक सहयोगमा चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा आज क्यान्सर र मृगौला पीडित बिरामी महतोद्वयलाई उपचार खर्च सहयोग रकम हस्तान्तरण गरिएको हो ।

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिको समन्वयमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो, अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव रामबाबु थापा, माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतो, पर्यटन बिकास समिति माडीका अध्यक्ष नारायण पौडेल, चितवन सम्पर्क समितिका पुर्व उपाध्यक्ष सुर्य पनेरु, सुलभबन्धु पोख्रेल र स्वदेश एफ.एम.का समाचार प्रमुख प्रेम पौडेल उज्जवल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख महतोले दक्षिण कोरियामा आफ्नो पसिना बगाएर पनि आफ्नो गाउँठाउँको मायाले गर्नुभएको सहयोगको लागि माडी नगरपालिकाको तर्फबाट धन्यबाद ज्ञापन गर्नुभयो । नगरपालिकाले सबैलाई हेर्नुपर्ने भएकाले केहि रकम सहयोग गरिसकेको उहाँले जानकारी दिनुभयो । पिडित परिवारलाई सम्बोधन गर्दैै उहाँले आत्मबल उच्च राख्न अनुरोध गर्दै माडी नगरपालिका र सम्पुर्ण साथीहरु संधै साथमा रहेको सम्झन समेत आग्रह गर्नुभयो ।

पेटको क्यान्सरले पीडित माडी पिपरियाकी दिलकुमारी महतोको विगत ६ महिनादेखि भरतपुरस्थित बि.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । हालसम्म ११ पटक किमो चढाइ सकिएको उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको क्यान्सरपीडित महतोको परिवार श्रोतले जनाएको छ । त्यसैगरी दुबै मृगौला बिग्रिएर डाइलाइसिस गराइरहनुभएका बघौंडाका मनोज महतोलाई उहाँकी श्रीमतीले मृगौला दान गर्ने जनाइएको छ । दुबै जनाको उपचार महंगो रहेको तर दुबैको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च सहयोगका लागि सार्वजनिक अनुरोध गरिएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार