दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या बढेर मानव तथा बन्यजन्तुबिच द्वन्द बढेको परिस्थितिमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता अर्थात क्यारिङ क्यापासिटीबारे अध्ययन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न सक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । यस निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ भने मध्यवर्ती क्षेत्र करीब ७२९ वर्ग किमीमा फैलिएको छ । निकुञ्ज बाघ, गैँंडा, हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण बासस्थान हो ।
चितवनका निकुञ्जकर्मीले भने बासस्थान नाश हुँदै गएकाले वन्यजन्तु बस्तीमा आउने, सामुदायिक वनमा वासस्थान बनाउने र अर्को क्षेत्रमा सर्ने गरेको जिकिर गर्दै आएका छन् । तर हरेक पटक बस्तीमा बाघले जनधनको क्षती गर्दा बाघको संख्या बढेका कारण बढेको संख्याको अनुपातमा निकुञ्जको बाघ बहन क्षमता कम भएको बहस हुँदै आएको छ । स्वदेश एफ.एम.ले निकुञ्जका सरोकारवालाहरुसंग बहस गरी पटक पटक निकुञ्जको भारबहन क्षमताबारे प्रश्न उठाउँदै आएको थियो ।
बाघ बहन क्षमताकाे अध्ययन कार्यदलमा अन्तरराष्ट्रिय विज्ञका रुपमा जुलोजिकल सोसाइटी अफ लण्डनका राज अमिन र भारतका वन्यजन्तुविज्ञ अभिषेक तथा नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई र इकोलोजिष्ट लक्ष्मण पौडेल, विश्व वन्यजन्तु कोषका डा. कञ्चन थापा, राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. नरेश सुवेदी, अर्का विज्ञ डा. भगवानराज दाहाल तथा वन तथा भूसंरक्षण मन्त्रालय र वन विभागका उपसचिवसहितको टोली सहभागी छन् ।




