चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन डा. गणेश पन्तको सरुवा, अतिक्रमण हटाउने सूचनापछि चर्चा

१७ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) डा. गणेश प्रसाद पन्तको सरुवा भएको छ। वन तथा वातावरण मन्त्रालयले पन्तलाई निकुञ्ज विभागमा सरुवा गरेको हो।

निकुञ्जभित्र अतिक्रमित जमिन खाली गराउन हालै सूचना जारी भएपछि पन्तको सरुवा गरिएको चर्चा चलिरहेको छ। यद्यपि पन्तले भने सरुवा नियमित प्रक्रियाअनुसार भएको स्पष्ट पार्नुभएको छ। “मैले छ महिना अघि नै सरुवा मागेको थिएँ, अहिले आएर मात्र कार्यान्वयन भएको हो,” उहाँले भन्नुभयो।

पन्त करिब डेढ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत हुन आउनुभएको थियो। उहाँकै हस्ताक्षरमा मंगलबार निकुञ्ज कार्यालयले एक सूचना जारी गर्दै मध्यवर्ती वन क्षेत्र, सामुदायिक वन, कबुलियती वन, सडक छेउ, खोला तथा नदी किनारका वन क्षेत्रमा अनाधिकृत रूपमा अतिक्रमण गरी बनाइएका टहरा, घर, कटेरा, घेराबार, पक्की संरचना तथा खेतीपाती तत्काल हटाउन निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया