१८ बैशाख, माडी । माडीका ३१ जना श्रमिक महिलाहरुले ‘ज्याला ठगी भएको’ गुनासो गर्दै माडी नगरप्रमुख ताराकुमारी काजी महतोको ध्यानाकर्षण गराएका छन् । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारी माडीका श्रमिक महिलाहरुको संजालले नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा अनौपचारिक क्षेत्रमा कार्यरत माडीका श्रमिक महिलाहरूले ज्यालामा बारम्बार ठगिएको, सरकारले तोकेको ज्याला नपाएको र पुरुष सरह काम गरेपनि कम ज्याला लिन बाध्य हुनुपरेको भन्दै श्रम अनुसारको ज्याला सुनिश्चित गर्न माग गरिएको छ ।
त्यस्तै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूले दैनिक जीवनमा भोग्दै आएको अन्याय, पीडा तथा आधारभूत श्रम अधिकारबाट वञ्चित हुनु परेको विषय उठाइएको छ । यसबाहेक सो ध्यानाकर्षण पत्रमा सुरक्षित कार्यस्थल, सुरक्षा सामग्री, खानेपानी र स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ ।




