१६ बैशाख, माडी । अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गराउन भन्दै सार्वजनिक सूचनाबाट चितवन राष्ट्रिय निकुञ्ज पछि हटेको छ । निकुञ्जले बुधबार पुनः एक सूचना प्रकाशित गर्दै यसअघि (मंगतबार) जारी भएको १५ दिने सूचनाबाट ‘भ्रम सिर्जना भएको’ उल्लेख गर्दै यो नियमित जिम्मेवारी रहेको उल्लेख गरेको हो ।
निकुञ्ज कार्यालयले यसअघि मध्यवर्ती वन क्षेत्र, सामुदायिक वन, कबुलियती वन, सडक छेउ, खोला तथा नदी किनारका वन क्षेत्रमा अनाधिकृत रूपमा अतिक्रमण गरी बनाइएका टहरा, घर, कटेरा, घेराबार, पक्की संरचना तथा खेतीपाती तत्काल (१५ दिनभित्र) हटाउन निर्देशन दिएको थियो ।
तर, सो सूचनापछि सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा आएका धारणा र टिप्पणीका आधारमा ‘भ्रम फैलिएको’ भन्दै विज्ञप्तिमा वन क्षेत्रको अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन निकुञ्जको नियमित जिम्मेवारी रहेको उल्लेख गर्दै यस कार्यलाई विगतदेखि निरन्तर अघि बढाइएको बताइएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका अव्यवस्थित बसोबासी तथा वास्तविक सुकुम्बासीका विषयमा भने नेपाल सरकारले आवश्यक व्यवस्था गर्ने वक्तव्यमा जनाइएको छ । निकुञ्जको १५ दिने सूचनाले माडीको हनुमानझुला लगायत अन्य सुकुम्बासी बस्ती क्षेत्रमा डोजर चल्ने त्रास फैलिएको थियो ।



