माडी (स्थानीय) खबर पोष्ट

माडीमा गत शैक्षिक बर्षको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

माडी नगरपालिकाको आयोजनामा गतबर्ष २०७५ सालमा पुरा भएको शैक्षिक सत्रको समीक्षा तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरुले शैक्षिक गुणस्तर बढाउन सर्बपक्षीय सहकार्यमा जोड दिएका थिए । त्यसैगरी पठन पाठनकाृ भाषा नेपाली वा अंग्रेजी जुनसुकै भएपनि गुणस्तरमा सम्झौता गर्न नहुनेमा पनि सबैको जोड रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले संस्थागत र सामुदायिक दुबैखालका विद्यालयहरु स्वतन्त्र रुपमा चल्न पाउनुपर्ने, न्यूनतम सिकाई उपलब्धी सुचक निर्धारण गरी कार्यान्वयन गर्नुपर्ने, गरीब विद्यार्थीहरुलाई आवासीय रुपमा पठनपाठनको व्यवस्था मिलाउनुपर्ने र विद्यार्थीहरुसंग समेत सल्लाह गरी शैक्षिक नीतिनिर्माण गर्नुपर्ने सुझाव आएको थियो । यसैगरी, विद्यालयलाई बालमैत्री, अपांगमैत्री बनाउने, प्रधानाध्यापकलाई अधिकारसम्पन्न र जवाफदेही बनाउनुपर्ने, परीक्षा प्रणालीलाई बर्षमा चारपटक गर्नुपर्ने तथा बिज्ञान, प्रविधी र सुचना प्रविधीलाई शिक्षासंग जोड्नुपर्ने लगायतका सुझावहरु समेत संकलन गरिएको माडी नगरपालिकाले जनाएको छ ।

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षातामा सम्पन्न सो कार्यक्रममा नगर शिक्षा समिति, आधारभूत शिक्षा उत्तीर्ण परीक्षा समितिका पदाधिकारी, माडीका अधिकांश सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, संस्थागत विद्यालयहरुका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार