तस्करहरुले एकपछि अर्को गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र विशेष सुरक्षा अभियान सुरु गरेको छ ।
गैंडाको चोरी शिकारका कारण संरक्षणमा चुनौती बढेसंगै निकुञ्जभित्र संवेदनशील क्षेत्रहरुमा ड्रोन र तालिम प्राप्त कुकुर समेतको उपयोग गरी ‘स्वीप अपरेशन’ थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जनाउनुभयो । निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्ने गरी अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।
अपरेशनमा निकुञ्ज रक्षक नेपाली सेनाको बटुक दल गण र निकुञ्जका कर्मचारीहरुको सहभागिता रहेको छ । ठाउँ हेरी हात्ती, डुङ्गा, गाडी वा साइकलमार्फत तथा पैदल गस्ती समेतबाट जारी स्वीप अपरेसन अझै एक महिना जारी रहने नेपाली सेनाको बटुक दल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिनुभयो । विगतका वर्षमा अधिकांश चोरी शिकारीका घटना यसै मौसममा हुने गरेको निकुञ्जको अध्ययन छ ।




