कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलद्वारा माडीमा चक्लाबन्दीमा आधारित व्यवसायिक कृषि सुरु

डेनमार्कबाट कृषि विषयमा पि.एच.डी. गर्नुभएका माडी नयाँपिपरियाका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलले माडीकै खैरहनी गाउँमा चक्लाबन्दीमा आधारित व्यवसायिक खेती सुरुवात गर्नुभएको छ ।

डा. पोखरेलले ‘माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्र (प्रा.) लि.’ नामको कृषि कम्पनी स्थापना गरी माडी नगरपालिका-४, खैरहनी गाउँमा चक्लाबन्दी खेती सुरु गर्नुभएको हो । कम्पनीले प्रारम्भमा १५ बिगाहा क्षेत्रफल जमीन चक्लाबन्दी गरी अर्गानिक (प्राङ्गारिक) कृषि उत्पादन सहित अनुसन्धान समेत गर्न लागेको हो । चितवनकै रामपुर क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गरी डा. पोखरेलले युरोपियन देश डेनमार्कबाट प्राङ्गारिक कृषिकै विषयमा विद्यावारिधी (पि.एच.डी.) गर्नुभएको हो ।

यसैबिच, डा. पोखरेलले सुरुवात गर्न लाग्नुभएको चक्लाबन्दी खेतीको औपचारिक शुभारम्भ गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनको १० लाख रुपैंया अनुदान सहयोगमा चक्लाबन्दी कार्य सुरुवात गरिएको हो । कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख मेघनाथ तिमिल्सिना, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख बरिष्ठ कृषि अधिकृत राजन ढकाल, माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण प्रसाद पौडेल लगायतको आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया