

३० जेष्ठ, माडी चितवन । माडी नगरपालिकाले केहि पदाधिकारी र कर्मचारीहरुलाई ऐन नियमावली बिपरित अनुगमन, सुपरीवेक्षण तथा कार्यक्रम तयारी भत्ता वितरण गरेको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु औंल्याएको छ ।

महालेखापरीक्षकको गत आ.व. २०७९/८० को अन्तिम प्रतिवेदनमा पालिकाले वितरण गरेको कतिपय भत्तालाई बेरुजु औंल्याएको हो । यसबाहेक ४ हजार रुपैंयाका दरले १६ थान स्पोर्टस् जुत्ता खरिद गरी १६ जना पदाधिकारी र कर्मचारीलाई वितरण गरेकोमा सरकारी सम्पत्ति व्यक्तिगत प्रयोजनमा खर्च भएको भन्दै अनियमिता औंल्याइएको छ ।

यसबाहेक केहि योजनामा वितरणमुखी खर्च गरेको, आवश्यकता र औचित्य पुष्टी नहुने गरी अवलोकन भ्रमणमा सरकारी रकम खर्च भएको, स्वीकृति बेगरको सफ्टवेयर सञ्चालन गरेको, कल्भर्ट कजवे जस्ता जटिल संरचना समेत उपभोक्ता समितिमार्फत गराएको र कतिपय खरिद सामग्रीको जिन्सी दाखिला नभएको तथा जिन्सी हस्तान्तरित केहि विद्यालयले जिन्सी खातामा आम्दानी बाँधेको प्रमाण पेश नभएको पनि औंल्याइएको छ ।
