

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र तराई भू-परिधि कार्यक्रम (TAL)को आयोजनामा माडीको बनकट्टास्थित बोटे सामुदायिक होमस्टेमा २१ दिने प्रकृति पथप्रदर्शक (Nature Guide) तालिम सञ्चालन सुरु भएको छ ।
मध्यवर्ती क्षेत्र अन्तर्गत माडीको पाँचपाण्डव उपभोक्ता समिति तथा माडी उपत्यका बाहिर मेघौली उपभोक्ता समिति, मृगकुञ्ज उपभोक्ता समिति रत्ननगर र लामिचौर उपभोक्ता समिति पिठौली क्षेत्रका समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानमा क्रियाशिल संरक्षण युवा च्याम्पियनहरुलाई तीन साता लामो सो तालिममा सहभागी बनाइएको हो ।

तालिम कार्यक्रमको आइतबार माडी नगरप्रमुख ताराकुमारी काजी महतोले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रम चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अविनास थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मध्यवर्ती क्षेत्र र चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्न चाहने पर्यटकको साथमा नेचर गाइड अनिवार्य हुनुपर्ने व्यवस्था छ । पर्यटकको भ्रमणमा सहभागी भई पर्यटक घुमाउने नेचर गाइडले राम्रो आयआर्जन गर्नेगरेकाले यस पेशातर्फ आकर्षण कायमै रहेको छ ।