चितवन खबर पोष्ट

एमाले माडी नगरको पत्रकार सम्मेलन : नगरको तेश्रो अधिवेशन माघ २६ र २७ गते हुने जानकारी (भिडियो)

माडी, चितवन । नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो माघ २६ र २७ गते बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सञ्चालन हुने भएको छ ।

एमाले माडी नगरले बिहीबार एक पत्रकार सम्मेलन आयोजना गरी नगर अधिवेशनबारे जानकारी गराएको हो । बसन्तपुर बजारस्थित नगर पार्टी कार्यालयमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगर अध्यक्ष नारायण अधिकारीले ‘अधिवेशनको तयारी ९५ प्रतिशत सकिएको र २०८ जना प्रतिनिधिहरु चयन भइसकेको’ जानकारी गराउनुभयो ।

प्रतिनिधि छनौट भएकाहरुमा खुलातर्फ ३७, महिलाबाट २९, युवाबाट १७, उत्पीडित समुदायबाट १६, जनवर्गिय संगठनहरुबाट २४, मनोनित १० र हालको नगर कमिटिका सबै ७५ जना गरी २०८ जना प्रतिनिधि एवं केहि पर्यवेक्षकहरु नगर सम्मेलनमा सहभागी रहने उहाँले जनाउनुभयो ।

नगर अधिवेशनमा प्रमुख अतितिका रुपमा पार्टीका स्थायी समिति सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्य रहने, विशिष्ट अतिथिका रुपमा पार्टीका चितवन ईञ्चार्ज देवी ज्ञवाली आउने र कार्यालयमा भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजाल पनि सहभागी रहने उहाँले जनाउनुभयो ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य यमबहादुर परियार ‘ईन्द्रजित’, चितवन जिल्ला उपाध्यक्ष श्यामकुमार बिष्ट, जिल्ला सदस्य एवं माडी नगरप्रमुख ताराकाजी महतो सहित जिल्ला एवं नगर तहका नेताहरुको उपस्थिति रहेको थियो । नगर अध्यक्ष अधिकारीकै अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अधिवेशन प्रचार प्रसार उपसमिति संयोजक कृष्णराज अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया