

माडी, चितवन । माडीको बरुवामा सञ्चालित माडी नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सोमेश्वर माध्यमिक विद्यालय बरुवाका छात्रा (खेलाडी) अनिशा महतो एक्लैले ३ स्वर्ण जित्नुभएको छ ।

माडी–१, अम्बाबास निवासी महतोले १०० मिटर दौड, ज्याभलिन थ्रो र सर्टपुटमा स्वर्ण पदक हासिल गर्नुभएको हो । यसअघि महतोले चितवन जिल्लास्तरीय स्पर्धामा समेत स्वर्णपदक जितिसक्नुभएको छ ।

सोमेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने छात्रा महतोले भविष्यमा खेल क्षेत्रमा निरन्तर सहभागिता जनाउँदै राष्ट्रिय स्पर्धाहरुमा खेल्ने चाहना व्यक्त गर्नुभयो ।

माडीका खेल शिक्षक कृष्ण चौधरीले महतो राम्रो सम्भावनायुक्त खेलाडी भएको बताउँदै उनलाई राम्रो प्रशिक्षणको व्यवस्था गर्न सके उनले राष्ट्रिय अन्तर्राष्ट्रिय खेल प्लेटफर्महरुमा माडीसंगै नेपालकै नाम चिनाउन सक्ने औंल्याउनुभयो ।