

माडी, चितवन । माडीको बरुवा बजारमा जारी सातौं राष्ट्रपति रनिङ शिल्ड (खेलकूद) प्रतियोगिताको उपाधी सोमेश्वर माध्यमिक विद्यालय बरुवाले जितेको छ । सोमेश्वर माध्यमिक विद्यालयले १७ स्वर्ण सहित ४ रजत र ३ काश्य सहित कूल २४ पदक जित्दै लगातार चाैथो पटक शिल्ड जितेको हो ।

त्यस्तै ५ स्वर्ण, ३ रजत र ६ काश्य सहित कूल १३ पदक जित्दै माडी माध्यमिक विद्यालय बसन्तपुर दोश्रो हुन सफल भएको छ । यसैगरी, २ स्वर्ण ५ रजत र ५ काश्य सहित १२ पदक जित्दै जनकल्याण मा.वि. कल्याणपुर तेश्रो भएको छ ।

रनिङ शिल्ड प्रतियोगितामा सगरमाथा मा.वि. हनुमानझुलाको २ स्वर्ण २ रजत र ३ काश्य तथा जनजीवन मा.वि. खरकट्टाको १ स्वर्ण, ४ रजत र ३ काश्य पदक रहेको छ । दिवाकर स्मृति मा.वि.ले १ स्वर्ण, ५ रजत र २ काश्य जितेको छ ।

यसबाहेक कृष्णनगर मा.वि.ले १ रजत र २ काश्य, विद्याज्योति अंग्रेजी विद्यालयले २ रजत र खैरहनी मा.वि.ले २ काश्य मात्रै जितेका छन् । खेलमा जीत हासिल गरेका खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको माडी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।