

माडी, चितवन । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटको भविष्य सुन्दर रहेको बताउनुभएको छ ।

नेपालमा क्रिकेट खेलको क्रमशः विकास भइरहेको र नेपाली महिला र पुरुष क्रिकेटरहरुले देश विदेशमा उपाधी जितिरहेको उल्लेख गर्दै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहनुभएका खड्काले नेपालमा एन.पि.एल.को पहिलो संस्करण सम्पन्न भएकोमा सुन्दर भविष्यको संकेत गरेको र नयाँ सपना जगाएको बताउनुभयो ।

माडीको बसन्तपुरमा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को प्रमुख अतिथिका रुपमा समुद्घाटन मन्तव्यका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा पुरुषसंगै महिला क्रिकेट पनि अगाडि बढिरहेको बताउँदै उहाँले नेपाली क्रिकेटलाई बलियो बनाउन स्थानीय प्रतियोगिताहरु महत्वपूर्ण हुने र यसबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने बिचार व्यक्त गर्नुभयो ।

माडीमा सञ्चालन सुरु भएको सो प्रतियोगितालाई सहयोग र माया गरिदिन अनुरोध गर्दै उहाँले सफलताको शुभकामना व्यक्त समेत गर्नुभयो । त्यसक्रममा क्यान सचिव खड्काले प्रतियोगिताको ट्रफी अनावरण समेत गर्नुभयो । समुद्घाटन पूर्व खड्कालाई पञ्चेबाजा सहित बसन्तपुर बजारमा भव्य स्वागत गरिएको थियो । शनिवार (आज) सुरुवात भएको सो प्रतियोगिता आउँदो फाल्गुन ३ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका ८ वटा टीमको सहभागिता रहेको छ ।