

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिले फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक बिदा दिइनुपर्ने माग गरेको छ ।

माडी नगर कार्यपालिका कार्यालयलाई एक मागपत्र बुझाउँदै माओवादी केन्द्र माडीले एकात्मक राज्यसत्ता उल्टाई संबिधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रसहित समानुपातिक समावेशिता, प्रदेश र स्थानीय तह सहितको राज्य पुनसंरचना र नयाँ संबिधान ल्याउन जनयुद्ध सुरु भएको उल्लेख गर्दै यस दिन सार्वजनिक बिदा दिन माग गरेको हो ।

माओवादी केन्द्रका माडी नगर अध्यक्ष भरत तिमिल्सिना, केन्द्रीय सदस्य ऋषि काफ्ले, प्रदेश सदस्य नेत्रनाथ आले र माडी नगरका पूर्व अध्यक्ष प्रभुप्रसाद महतोले नगरका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई सो ज्ञापनपत्र बुझाउनुभएको हो । विगतमा ’जनयुद्ध दिवस’ मा फागुन १ गते सार्वजनिक बिदा दिने गरिएपनि सर्बोच्च अदालतको आदेशपछि त्यो क्रम रोकिएको छ ।
